कविता :- मेरो सुनको मुर्तिमा भगवान बसेन
© २०७० सिजन तामाङ् |
१
रगत चुसेथेँ, पसिना सोसेथेँ, गाउँलेको
समयले कोल्टे फेय्रो
युगले काँचुलि फेय्रो
अब धर्म गर्छु भनी
अनि मुक्ती पाउँछु भनी
स्वर्ण मुर्ति बनाएँ,
पुजा गर्न
तर,
म माथि गाउँलेको अचुक ऋण बाँकि भयो
साँच्चै,
मेरो सुनको मुर्तिमा भगवान बसेन
पुजा पुरा भएन
मलाई माफि मिलेन ।
२
मन्दिर नासेथें, पुजा रोकेथेँ, गाउँको
डाँडा माथिको घम भईयो
यमराजले पनि चिठी पठाएछ
जिउने चाहा झन् बढ्यो
भगवानसँग चिरन्जिविको आशिर्वाद् माग्छु भनेर
स्वर्ण गजुर जडित मन्दिर बनाएँ
भगवानको दर्शन गर्न
तर,
मेरो पापको भकारी ठुलो भयो
साँच्चै,
मेरो सुनको मुर्तिमा भगवान बसेन
भगवानको दर्शन पाईँन
मलाई माफि मिलेन ।
३
शब्दजाल बुनि, आश्वासनले लठ्ठ पारेथेँ, उमेर छँदा, गाउँले लाई
उमेर पनि चढ्दै गयो
अब त सक्दिन जस्तो लाग्यो
आफ्नै पाप देख्न थालेँ
पाप सबै धुन्छु भनेर
तिर्थ यात्राको योजना बनाएँ
तिर्थ जान
तर,
दम सकियो शरिरको सोच मात्र बाँकि भयो
पक्कै,
मेरो सुनको मुर्तिमा भगवान बसेन
तिर्थ पुरा भएन
मलाई माफि मिलेन ।
४
श्रम सोसेथेँ, गास खोसेथेँ, जोस छँदा, गाउँले को
जोस पनि हराउँदै गयो
आफ्नो कु-कर्मको आभाष भयो
नमिठो लाग्यो र आफैँलाई धिक्कार दिएँ
पश्चाताप गरि भगवान खुसि पार्छु भनेर
यज्ञवेदि तयार गरेँ
यज्ञ गर्न
तर,
म भित्र अधर्मको कुराउनी बाँकि भयो
साँच्चै,
मेरो सुनको मुर्तिमा भगवान बसेन
यज्ञ पुरा भएन
मलाई माफि मिलेन ।
५
थिचोमिचो गराई, घुस लिएथेँ, बोलि छँदा, गाउँले बाट
बोली पनि बिक्न छाड्यो
घुसखोरिको नमिठा आरोप आयो
सत्यको सामु मेरो असत्य टिकेन
अब सत्यकै बाटो लाग्छु भनि
प्रवचनको आयोजना गर्न लगाएँ
सुनेर मन बदल्न
तर,
घुस्याहा कानेगुजिले मेरो कानै ठप्प भयो
साँच्चै,
मेरो सुनको मुर्तिमा भगवान बसेन
मेरो मन बदलिएन
मलाई माफि मिलेन ।
६
गाउँले धपाएथेँ, भुमि बेचेथेँ, हैकम चल्दा, गाउँले माथी
गाउँलेले पनि टेर्नै छाडे
मेरो हैकमबाद सेलाउन थाल्यो
गाउँले पनि सचेत भए
गाउँले साँगै मिल्छु भनेर
पश्चाताप सभा आयोजना गरेँ
माफि माग्न
तर,
मेरो बोलिमा अहमता नै हावि भयो
साँच्चै,
मेरो सुनको मुर्तिमा भगवान बसेन
गाउँले ले पनि माफि दिएन
मलाई माफि मिलेन ।
No comments:
Post a Comment