जनकपुर अथवा जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिका मा अवस्थित एक शहर छ। यो शहर नेपालको तराईमा पर्दछ र यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यो नेपालको राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ ।
यो धनुषा जिल्लाको प्रशासकिय केन्द्र पनि हो । यो सहरको अनुमानित जनसंख्या ८०,००० हो । यो नगर काठमाडौंबाट ४०० कि.मी. को दुरीमा, तथा भारतीय सीमाबाट २० कि.मी. को दुरीमा अवस्थित छ । भौगोलिक अक्षांस र देशान्तरको हिसाबमा यो सहर २६° ४२' ४४" ऊत्तर, ०८५° ५५' १८" पूर्व मा अवस्थित छ ।
जनकपुर हिन्दू धर्मावलम्बिहरुको एक महत्वपूर्ण तिर्थ स्थल तथा नेपालको एकमात्र रेल स्टेसन भएको ठाउँ भएकाले पर्यटनका लागि पनि यो एक महत्वपूर्ण सहर हो । यो शहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि हो र साथै यस शहरको आफ्नै भाषा (मैथिली) र लिपि (तिरहुता) पनि छ । जनकपुरधाम, भगवती सीता (जानकी) को पनि जन्मस्थल हो। सीता राजा जनककी छोरी तथा भगवान रामकी श्रीमती हो । जनकपुरधाम राम र सीताको विवाहस्थल पनि मानिन्छ। राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेको छ । राजा जनकले सीतासँग विवाहका लागि स्वयंवर आयोजना गर्नुभएको थियो । उक्त स्वयंवरमा भगवान शिवको धनुष उठाउन सक्नेले सीतालाई बिहे गरि लाने शर्त राखिएको थियो। उक्त शर्त पूरा गर्न सक्ने अयोध्याका राजकुमार राम थिए । त्यसैले जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण आध्यात्मिक स्थल पनि हो ।
जनकपुरको केन्द्रिय बजार उत्तर-पश्चिम दिशा बाट भव्य जानकी मन्दिरले सुसज्जित छ । यो मन्दिर १९११ ई.स.मा टीकमगढकी(भारत) राजकुमारी 'कुमारी वृषभानु'द्वारा निर्माण गरिएको हो । जानकी मन्दिर मुगल तथा शिखर शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्वपूर्ण बनाउँछ । यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहिआएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो। जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन् । यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ । त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ । जनकपुरधामको बारेमा एउटा उखान नै छ - "५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा" । यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्व छ । जनकपुरधाममा भएका केही महत्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन् ।
जनकपुरधाममा बोलिने प्रमुख भाषा मैथिली हो । यो भाषा भारतको बिहार प्रान्तको धेरैजसो भागमा पनि बोलिन्छ । मैथिल नारी मैथिल चित्रकला का लागि पनि प्रख्यात छन् । विशेषतया माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कलाको क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ । मिथिलाको पारंपरिक घरहरू माटो र परालद्वारा बनाईन्छ । जनकपुरधाममा मनाईने प्रमुख चाड-पर्वहरू मध्ये छठ, विवाह पञ्चमी, राम नवमी, लक्ष्मी पूजा, होली ईत्यादि हुन् । विवाह पञ्चमी राम र सीताको विवाहको तिथीमा मनाईन्छ । यस पर्वमा वर्षेनी लाखौंको संख्यामा धर्मावलम्बीहरू सहभागी हुन्छन् । होलीमा ७-दिने परिक्रमा जाने पनि चलन छ।
यो शहरको इतिहासको जति चर्चा छ त्यति नै ओझेलमा पर्दैछन् सफाईको कुरा । यो शहर सरसफाईको हिसाबमा खाठमाडौँ भन्दा पनि पछि परेको छ । फोहोरको बिगबिगी बढ्दो छ । प्रशासनिक तथा सरकारी स्तरका कार्यलयहरुमा पनी पान खाएर थुकेको टाटा देखिन्छन् । ढल पनि जमिरहेको देखिन्छ । हाल(बि. सं.2070)को अवस्था अनुसार होटलहरुको सरसफाई पनि पुगेको देखिँदैन । अस्त ब्यस्त देखिन्छन् सडक किनारा । स्थानिय बासिन्दा सबैभन्दा पहिला जागृत भएर सरसफाईमा नलागीकन कसैको एक्लै तथा कुनै बाहिरी संस्थाको प्रयासबाट मात्र केहि हुनेवाला देखिन्छ ।
Note:"This article was already published on SijanT on 9th feb 2014.."
No comments:
Post a Comment