2014-02-22

डाँडाखर्के तथा छोडेखर्के सोल्टीनीहरूको लागी यो भेटको अन्तिम शब्द । पत्र ।

मिती :२०७० / ०९ / ०७

प्रिय डाँडाखर्के तथा छोडेखर्के सोल्टिनीहरू, यो मल्डुङे ठिटोको धन्यावाद स्विकार्नुहोला । यो भेटको समयमा यहाँहरूको जुन साथ र न्यानोपन मिल्यो म कहिल्यै भुल्ने छैन, किनभने म भुल्न पनि सक्दिन । माघ ०४ गते बेलुकी देखीको डाँडाखर्के सोल्टिनिसँगको भेट घाट माघ ०६ गते सम्म रह्यो । छोडेखर्के सोल्टिनिसँगको भेट भने एक दिन मात्रै रह्यो माघ ०५ गते । त्यै पनि बिहान र बेलुकी त डाँडाखर्क मै ।
यो बिचमा जति जति भेट भयौँ सबै सबैमा यो ठिटोको तर्फबाट अटुट सम्झना ।

सोल्टीनी समय परिवर्तनशिल छ । यो भनेर मैले यहाँहरूले केहि जान्नुहुन्न भनेर भन्न खोजेको होईन । म त समयको गतिशिलतालाई आफ्नो तर्फबाट प्रष्ट्याउन खोज्दैछु । तपाईँहरु मध्यो कोहि कोहि त शहरिया परिवेश को भोगी पनि हुनुहुन्छ । अनर्थ नलगाउनु । बिशेषज्ञ नभए पनि म लवाई र ब्यवहारले चिन्छु । गाउँले ठिटा ठिटीमा हुने सत्कारभाव र कर्मशिलता कतिपय शहरिया ठिटा ठिटीमा पएको छैन मैले । मेरो यात्राको दौरानमा बटुलेको अनुभवको आधारमा भन्दैछु म यो कुरा । तपाईँहरूको कर्मशिलता र सत्कारभावको लागी मेरो तर्फबाट खोट लगाउने पक्ष छैनन् । हाम्रो भेटको बिचमा बटुलेको अनुभवबाट भनेको यो चाहिँ । बिहेको दिनमा तपाईँको सेवा पनि कमताको थिएन । शहरिया परिवेसमा हुर्केका ठिटा ठिटीको यस्तो सेवा पाउन त कल्पिएको महा प्रलय पछि को समय नै पर्खिनुपर्ला । कसरी सहन सक्छन् र चिसो सिरेठो र हिउँ अनि खुट्टा बिझाउने बालौटे माटोको दर्द शहरमा बिना पैदल, यात्रा गर्नेले । अनि कसरी गर्न सक्छन र घाँस दाउरा, शहरमा अरूले पकाएको खाना खानेले । यसर्थ सोल्टिनी, तपाईँको लागी मेरो आघात सम्झना फेरी पनी ।

म अब खास भन्न आँटेको कुरातर्फ आएँ सोल्टिनी । म जब माघ ०४ गते बेलुकी डाँडाखर्क पुगेँ तब देखी नै मैले यहाँहरूको सामिप्यता महसुस गरेँ । खाना खाँदाको क्षण, गफ गर्दैको क्षण अनि आधा शरीर सिरकले ढाकेर आधा बाहिर निकालेर सराब पिएको क्षण मेरो लागी अमुल्य भएका छन् । ति बेला तपाईँमध्येकै कोहि कोहि हुनुहुन्थ्यो मेरो नजिक । खाना थप्ने, गफको बेला मोबाईल हेर्ने, सराब थप्ने जस्ता धेरै बाहाना बनाउनुहुन्थ्यो मेरो नजिक आउने तर म अरूसँग गफमा ब्यस्त हुन्थेँ । त्यै बेला महसुस गर्थेँ कि तपाईँको मन खल्लो भयो होला । तर पनी म तपाईँतर्फ मोडिन्नथेँ । राति अबेरसम्म पनि तपाईँ सँगै बस्नुभएथ्यो । म निदाए सम्म पनी ।

जब माघ ०५ गते खास बिहेको दिन आयो तब पनि तपाईँ मध्यो नै कोहि कोहि हुनुहुन्थ्यो मेरै नजिक । चुलो नजिकै सुतेको मैले चालै नपाउने गरी चिया बनाएर बिहान चिया खान बोलाउँदा त म अचम्मै भएँ । त्यस्तो चिसो ठण्डा बिहानीको सिरेठो फेरी हिजोको पानिले परेको हिउँ तर पनि तपाईँको त्यस्तो सत्कार, त्यो बेलामा अरूले जे सोचे पनि मेरै खातिर थियो मेरो लागी । भन गद गद भएथ्यो तपाईँको सामिप्यताबाट त्यै भएर केहि कोरेथेँ ।

बिहानपख जब जन्ति बेहुलिको घर जाने तर्खरमा लाग्यौँ तब तपाईँ अर्कै सज्जामा हुनुहुन्थ्यो । तपाईँमध्यो कोहि सिम्पल देखीने तर अत्यन्तै सुहाउने कुर्था सलवारमा हुनुहुन्थ्यो भने कोहि चोलि र फरिया मा । मनै कस्तो कस्तो भएथ्यो तपाईँहरूसामु बस्दा । जन्ति हिँड्नलाई माला लगाएको पनि पत्तै पाएको थिईँन मैले त ।

छोडेखर्के सोल्टिनीहरू, तपाईँसँगको भेट त दिनको पुर्वार्धमा पुगेको बिहान भयो । जब हामी सबै आयौँ तब माला लगाएर स्वागत गर्नुभो । डाँडाखर्के सोल्टिनी सँगै बसेर छोडेखर्के सोल्टिनीले दिएको प्रसाद खाँदाको मजै बेग्लै । दिनभरी मेरो नजिक नजिक नै हुनुभो तपाईँहरू । खाना खाने बेलामा म भएकै लाईनमा धेरैचोटी पानी लेराउनुभयो । रोटि खाँदा सँगै बस्नुभयो । म जब घाम ताप्न एक्लै अलि पर जान्थेँ र मोबाईल झिकेर अनलाईन बस्थेँ तब तपाईँहरू हुल बनेर मेरो नजिकै आएर कुरा गर्दै बस्नुहुन्थ्यो । जब म फोटो खिच्न बेहुला बेहुलि को अगाडि जान्थेँ तब तपाईँहरू मेरै पछाडि आएर मोबाईल हेर्नुहुन्थ्यो । यि सबै बिचमा म भने मुस्काउने सिवाय अरू कुनै प्रतिक्रिया हिन रहेँ ।

जब साँझ बेहुलि सहित जन्ति फर्किन लाग्दा तपाईँहरूले गितको झटारो हान्नुभयो त्यो त म कसरि बिर्सन सक्छु र.."यो मायाको मन कस्तो साह्रो, आफ्नो मान्छे भन्नलाई भो गाह्रो ।" दोहोरी फर्काउने त अरू नै भए तर तपाईँहरूले निशाना त मलाई नै बनाउनुभएको थियो । कसैको नजरमा अरूनै सोल्टि हुनुहुन्थ्यो होला । मैले यो आधारमा भनेँ कि तपाईँ जो जो मेरो नजिक नजिक हुनुहुन्थ्यो उहाँले नै दोहोरीको झटारो हान्नुभएथ्यो ।

डाँडाखर्के सोल्टिनीहरू, जब हामी चल्दैको दोहोरी छाडेर डाँडाखर्क फर्कियौँ तब तपाईँहरू मेरै पछाडि हुनुहुन्थ्यो । जब बेलुकि को भोज खाएर नाचगानतिर लाग्यौँ तब तपाईँहरू नै हुनुहुन्थ्यो जुहारी खेल्ने मलाई नै ताकेर । म नाच्थेँ तब तपाईँमध्यो कोहि कोहि सँगै नाच्न आउनुहुन्थ्यो । एकदम सौहार्दमय थियो नाचगानको कार्यक्रम ।

जब माघको ०६ गते भयो तब तपाईँहरूको भाँडा माझेर थन्क्याउने दिन भयो । त्यै भएर होला तपाईँको सामिप्यता भएन त्यो दिन । जब म घर फर्कन अरूसँग झोला र ज्याकेट भिरेर गाडि चढ्दै थिएँ तब तपाईँहरूमध्यो नै एकले भन्नुभएको शब्दाहरू याद आउँछ..."सोल्टी भाँडा माझ्न आउनु न" । मैले प्रति उत्तरमा भनेथेँ..."फेरी भेटौँला ।" तब तपाईँमध्योकै एकले भन्नुभएको थियो ..."कस्तो निष्ठुरि मान्छे, छोडेर जाने ।" म केहि बोल्न सकिँन । गाडि चढेँ आएँ । तपाईँहरूको मन कति दुख्यो होला । पछि महसुस गरेँ ।

सोल्टिनी, धेरै कल्पनामा नडुब्नु अब मेरो । मेरो मन त कसैले यो भन्दा पहिले नै चोरिसकेको छ । म अब धोका दिन सक्दिँन । त्यो दिन तपाईँको मन खल्लो बनाएँ यसको लागी माफी चाहान्छु । एउटा कुरा कसैको खेस्रा कुरामा नफस्नु र चाँडै विश्वास नगर्नु दुनियाँ स्वार्थि छ । यो कुरा भेटमा गरौँला है । आजलाई यति नै ।

-
कसैको (काले)
मल्डुङे ठिटो
सिजन तामाङ



No comments:

Post a Comment